Monday, June 1, 2026

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दर्ता, राज्यविरुद्धको कसुरसमेत लगाइयो


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ। सरकारी वकिल कार्यालयले सोमबार विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको हो।

प्रहरीले प्रसाईंलाई गत जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिमार्फत महिला, सेना, प्रहरी तथा केही राजनीतिक व्यक्तित्वविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले महिलामाथि अपमानजनक अभिव्यक्ति दिएको, साथै सेना र प्रहरीजस्ता राज्यका निकायप्रति अशोभनीय तथा होच्याउने टिप्पणी गरेको आधारमा अनुसन्धान अघि बढाइएको हो।

अदालतमा उपस्थित गराइएपछि उनका समर्थकहरूले पर्सा जिल्ला अदालत परिसर बाहिर नाराबाजीसमेत गरेका थिए।

प्रसाईंले एक युट्युब अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै समूहले सञ्चालन गरिरहेको दाबी गरेका थिए। उनले हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा बालेन्द्र शाह उभिए उनको तस्वीर घरमा राख्ने टिप्पणीसमेत गरेका थिए।

त्यसैगरी, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like