- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । बाँकेकी निर्मला कुर्मी प्रकरणमा निष्पक्ष अनुसन्धान र न्यायको माग गर्दै २३ दिनदेखि अनशनमा बसेकी अधिकारकर्मी रूबी खान र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै खानले आफ्नो अनशन अन्त्य गरेकी छन् ।
नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा अनशनरत खानसँग वार्ताका लागि सरकारको विशेष टोली खटिएको थियो । टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल सहभागी थिए ।
लगातारको छलफलपछि गृह मन्त्रालयका प्रतिनिधि र रूबी खानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । अनशन तोडाउने क्रममा दिपा दाहालले खानलाई पानी खुवाएकी थिइन् ।
सहमतिअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको हालसम्मको अनुसन्धान अध्ययन गरी छिट्टै न्यायिक प्रक्रियामा लैजाने प्रतिबद्धता सरकारले जनाएको छ ।
त्यस्तै, खानले उठाएका अन्य घटनाबारे लुम्बिनी प्रदेश प्रहरी कार्यालयमार्फत छानबिन गरिने र अनुसन्धानमा कमजोरी देखिए सम्बन्धित प्रहरी कर्मचारीमाथि कानुनी कारबाही गरिने उल्लेख गरिएको छ ।
रूबी खानविरुद्ध दर्ता गरिएको ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’ सम्बन्धी मुद्दाको अनुसन्धान पनि छिट्टै टुंग्याइने सहमति भएको छ । साथै, उक्त प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखसहित सम्बन्धित प्रहरी कर्मचारीहरूको भूमिकाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गर्नेछ ।
सहमतिमा निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत रूबी खान तथा अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि आवश्यक समन्वय र निर्देशन दिने विषय पनि समावेश गरिएको छ ।