Monday, June 1, 2026

प्रेस काउन्सिलदेखि गोरखापत्रसम्म नेतृत्व चयन खुला, योग्य व्यक्तिबाट आवेदन आह्वान


काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) तथा गोरखापत्र संस्थानका प्रमुख पदहरूमा नयाँ नेतृत्व चयनका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा आवेदन मागेको हो ।

मन्त्रालयका अनुसार आवश्यक योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ १८ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यसअघि राजनीतिक नियुक्तिबाट आएका पदाधिकारीहरू अध्यादेशमार्फत पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया सुरु गरिएको हो ।

प्रेस काउन्सिल ऐन, २०४८ अनुसार काउन्सिल अध्यक्ष पदका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश, वरिष्ठ अधिवक्ता वा पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्ति योग्य मानिने व्यवस्था छ । अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । यो पदले पत्रकारिताको मर्यादा, आचारसंहिता र प्रेस स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

त्यस्तै, सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ अनुसार स्नातक उत्तीर्ण गरी पत्रकारिता, मानविकी, व्यवस्थापन, सूचना प्रविधि वा प्रसारणसम्बन्धी इन्जिनियरिङ क्षेत्रमा कम्तीमा १५ वर्ष अनुभव हासिल गरेका व्यक्ति पीएसबी अध्यक्ष बन्न योग्य हुनेछन् । उक्त संस्थाअन्तर्गत नेपाल टेलिभिजन र रेडियो नेपाल सञ्चालनमा छन् ।

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि पनि आवेदन खुला गरिएको छ । सम्बन्धित ऐन तथा कार्यविधिअनुसार सञ्चार तथा प्रकाशन क्षेत्रमा व्यवस्थापकीय अनुभव, तोकिएको शैक्षिक योग्यता र उमेर सीमा पूरा गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । महाप्रबन्धकले संस्थानको प्रशासन, व्यवस्थापन र नीतिगत कार्यान्वयनको नेतृत्व गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।

मन्त्रालयले सबै पदमा प्रतिस्पर्धात्मक र पारदर्शी छनोट प्रक्रिया अपनाइने जनाएको छ । आवेदन फाराम, आवश्यक कागजात र विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like