- by समाचार कक्ष
- Mar 06, 2025
दाङ । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आफ्नो पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध अशोभनीय नाराबाजी गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमा, एमाले जिल्ला कमिटीले तुलसीपुर बजार क्षेत्रमा गएराति रास्वपा सम्बद्ध व्यक्तिहरूले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अशोभनीय नारा लगाउँदै पार्टीको झण्डा जलाएको घटनालाई भर्त्सना गरेको उल्लेख गरिएको छ।
जिल्ला अध्यक्ष शिवकुमार आचार्य द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो व्यवहारलाई लोकतान्त्रिक संस्कार र विधिको शासनमाथि प्रहार हुने गरी अराजक र असभ्य भएको टिप्पणी गरिएको छ।
एमालेको ठहर अनुसार, विचार र जनमतबाट असहमति व्यक्त गर्नुपर्नेमा हिंसात्मक र उत्तेजक गतिविधि प्रदर्शन गर्नु राजनीतिक अपरिपक्वताको संकेत हो। पार्टीले रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रूपमा प्रस्तुत हुन आग्रह गर्दै, क्षणिक चर्चाका लागि गरिने उग्र प्रदर्शन र प्रियतावादले सम्भावित दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा एमालेको धैर्यता र संयमतालाई कमजोरीका रूपमा नलिन चेतावनी दिँदै, यस्ता गतिविधि गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ। साथै पार्टीले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ लोकतान्त्रिक मूल्य र सुदृढ प्रतिवादको पक्षमा उभिन अपिल गरेको छ।