- by समाचार कक्ष
- Mar 06, 2025
दाङ, ११ माघ - जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। घोराही उपमहानगरपालिका–२, रामपुर निवासी हरी जिसीको शव घोराही उपमहानगरपालिका–१८ स्थित घरडौरा जंगलमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिसी माघ ८ गते बिहानको ड्युटी सम्पन्न गरी स्कुटी लिएर बाहिरिएका थिए। त्यसपछि उनी तीन दिनसम्म सम्पर्कविहीन बनेका थिए। खोजतलासका क्रममा उनको स्कुटी बाटोमा फेला परेको थियो भने थप खोजीपछि जंगलमा उनी झुन्डिएको अवस्थामा भेटिएका हुन्।
प्राप्त जानकारीअनुसार उनका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको आईसीयूमा उपचाररत रहेका थिए। बिदा नपाएको कारण उनी मानसिक तनावमा रहेको स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको छ। मोबाइल फोनको लक खुलेपछि मात्र घटनासम्बन्धी थप विवरण र मृत्युको कारण स्पष्ट हुने उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।