- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना अन्तर्गत भएको गम्भीर अपराधको मुद्दा काठमाडौँ जिल्ला अदालतमा अन्तिम चरणमा प्रवेश गरेको छ। पूर्वगृहमन्त्री तथा उच्च पदस्थ व्यक्तिहरू संलग्न रहेको यस प्रकरणको सुनुवाइ जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुरु हुन लागेको हो।
अभियोगपत्रअनुसार संगठित गिरोहले नक्कली कागजात तयार गरी नेपाली नागरिकलाई भुटानी शरणार्थीको रूपमा प्रस्तुत गरेको आरोप लगाइएको छ। संगठित अपराधसहित पाँचवटा अभियोगमा दायर यो मुद्दा करिब साढे दुई वर्षपछि अन्तिम सुनुवाइमा पुगेको हो। १० जेठ २०८० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
पछि ९ वैशाख २०८१ मा केशव दुलालसहित पाँच जना र ४ साउन २०८१ मा अर्का सन्दिग्ध बेचन झाविरुद्ध २९ साउन २०८१ मा पूरक अभियोगपत्र दायर गरिएको थियो। थुनछेकसम्बन्धी बहस तथा आदेशबाहेक तीनवटै मुद्दालाई एकैसाथ राखी सुनुवाइ हुँदैछ।
यसअघि अदालतले अनुपस्थित साक्षीहरूको बयान लिइसकेको छ। तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। यद्यपि, केही अभियुक्त उच्च अदालतको आदेशपछि धरौटी र तारेखमा रिहा भएका छन् भने केही अझै थुनामै छन्। २०८० र २०८१ मा मुद्दाले प्राथमिकता नपाए पनि गत मङ्सिर २८ गते न्यायाधीश डा. दिवाकर भट्टको इजलासले प्रतिवादीहरूका नाममा म्याद जारी गरेपछि प्रक्रिया अघि बढेको हो।
हाल अदालतमा टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, बालकृष्ण खाँण, शमशेर मियाँ, नरेन्द्र केसी, टेकनारायण पाण्डे, आङटावा शेर्पा, प्रतीक थापा, इन्द्रजित राई र उनका छोरा नीरज राईविरुद्धको मुद्दा विचाराधीन छ।
यस प्रकरणमा मुख्य बिचौलिया केशव दुलाल र उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा लगायत अन्य धेरै व्यक्ति पनि अभियुक्त छन्। मुद्दा दायर हुँदा पक्राउ परेका १८ मध्ये २ जनालाई धरौटीमा रिहा गरिएको थियो भने १६ जनालाई थुनामा राखिएको थियो। त्यतिबेला १२ जना फरार रहेकामा केही पक्राउ परे पनि अझै केही अभियुक्त फरार नै रहेका छन्।