- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दाकी आरोपित टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
प्रहरीका अनुसार अधिकारीलाई नेपाल ल्याएपछि हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले उनको नेपाल आगमनपछि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको तथा सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोपमा मुद्दा दायर भएको थियो। अनुसन्धानका क्रममा उनी विदेश फरार भएको खुलेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो।
उनीविरुद्ध गत साउनमै प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी उजुरी परेको थियो। अनुसन्धानका क्रममा बैंक खातामा ठूलो रकमको कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरणतर्फ पनि छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।
ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध जाहेरी दिएका थिए। उजुरीपछि अनुसन्धान अघि बढाइए पनि अधिकारी फरार रहेकी थिइन्।