Thursday, April 16, 2026

ट्रम्पको निर्णयमा नेतन्याहूको साथ, तर लेबनानमा युद्धविराम अस्वीकार्य


काठमाडौं - इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति समर्थन जनाएका छन्। तर उनले प्रस्तावित युद्धविराम लेबनानमा लागू नहुने स्पष्ट पारेका छन्।

इजरायली प्रधानमन्त्री कार्यालयले युद्धविराम सम्बन्धी औपचारिक वक्तव्य जारी गर्दै उक्त धारणा सार्वजनिक गरेको हो।

इजरायली सञ्चारमाध्यमका अनुसार वक्तव्यमा उल्लेख गरिएको छ कि इजरायलले ट्रम्पको इरानविरुद्धको सैन्य कारबाही दुई हप्ताका लागि रोक्ने निर्णयलाई समर्थन गर्दछ। तर यसको सर्तस्वरूप इरानले तत्काल जलमार्ग खुला गर्नुपर्ने, साथै अमेरिका, इजरायल र क्षेत्रका अन्य मुलुकमाथि भइरहेका सम्पूर्ण आक्रमण रोक्नुपर्ने बताइएको छ।

नेतन्याहू कार्यालयले अमेरिका नेतृत्वको प्रयासलाई पनि समर्थन गर्ने जनाएको छ, जसको लक्ष्य इरानबाट भविष्यमा आणविक, मिसाइल तथा आतंकवादी खतरा समाप्त गर्नु रहेको छ। साथै, यी उद्देश्यहरू आगामी वार्तामार्फत पूरा गर्न अमेरिका प्रतिबद्ध रहेको जानकारी इजरायललाई दिइएको पनि उल्लेख गरिएको छ।

यद्यपि, वक्तव्यमा दुई हप्ते युद्धविराम लेबनानमा लागू नहुने कुरा प्रस्ट रूपमा उल्लेख गरिएको छ।

यो अभिव्यक्ति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लेबनानमा पनि लागू हुने बताएका पृष्ठभूमिमा आएको हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like