- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - संघीय संसद अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा एमाले सांसद पूजा चौधरी निर्विरोध चयन भएकी छिन्।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य गोपालकुमार बस्नेतले गरेका थिए। बस्नेतले चौधरीको नाम प्रस्तावका रूपमा प्रस्तुत गरेका थिए, जसलाई सदस्यहरूले एकमतले अनुमोदन गरेका हुन्।
सभापतिमा चयन भएपछि चौधरीले संविधानको परिधिभित्र रहेर देश र जनताको हितमा कानुन निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले आवश्यक अध्ययन तथा अनुसन्धानका आधारमा निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्ने बताइन्।
उनले कुनै पक्षपात बिना सबैसँग समन्वय र सहकार्य गर्दै समितिको कामलाई प्रभावकारी बनाउने पनि उल्लेख गरिन्।
यसैबीच समितिले नव-निर्वाचित सदस्यहरूलाई स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना समेत दिएको छ।