Monday, March 2, 2026

तनहुँमा जीप दुर्घटना : १३ वर्षीया बालिकाको मृत्यु, एक जना घाइते


दमौली (तनहुँ), ११ माघ - तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित कोलडाँडामा आज बिहान भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कोलडाँडा–थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ जाँदै गरेको ग३च ५८३८ नम्बरको जीप सडकबाट करिब २० मिटर तल खसेको थियो। दुर्घटनामा म्याग्दे–४, कोलडाँडाकी १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको हो।

गम्भीर घाइते अवस्थाकी घर्तीलाई बिहान ८:४० बजे प्रदेश अस्पताल दमौली पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा सोही स्थानका १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले जीप चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको छ। (रासस)

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like