- by समाचार कक्ष
- Mar 06, 2025
बाँके । सामाजिक सञ्जाल टिकटकमा हतियारसहितका दृश्यहरू सार्वजनिक गरी सर्वसाधारणमा डर र त्रास सिर्जना गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक रहेका छन्। उनीहरूले आफ्ना टिकटक खातामार्फत हतियार प्रदर्शन गर्दै असुरक्षा फैलाउने खालका गतिविधि गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूले फरक–फरक नामका खाताबाट यस्ता भिडियोहरू सार्वजनिक गरेका थिए, जसले आम नागरिकमा भयको वातावरण सिर्जना गरेको थियो। त्यसपछि प्रहरीले निगरानी बढाएर दुवैलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले सार्वजनिक शान्ति र सुरक्षामा असर पार्ने यस्ता गतिविधिलाई गम्भीर रूपमा लिँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। पक्राउ परेका दुवै जनालाई म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।