- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेका छन्। यसअघि पुनर्विचारका लागि फिर्ता पठाइएको उक्त अध्यादेशलाई सरकारले पुनः स्वीकृतिका लागि सिफारिस गरेपछि जारी प्रक्रिया अघि बढेको स्रोतले जनाएको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार अध्यादेशमा कुनै परिमार्जन नगरी पुरानै स्वरूपमा पुनः पठाइएको हो। त्यसपछि राष्ट्रपति कार्यालयले अध्यादेश जारी गर्ने दिशामा निर्णय लिने तयारी गरेको बुझिएको छ।
यसअघि राष्ट्रपतिले गणपूरक संख्या र निर्णय प्रक्रियासम्बन्धी प्रावधानमा असहमति जनाउँदै अध्यादेश फिर्ता गरेका थिए। विशेषगरी ६ सदस्यीय परिषद्मा ३ जनाले मात्र निर्णय गर्न सक्ने प्रावधानप्रति उनको असन्तुष्टि रहेको थियो, किनकि यसले बहुमतको सिद्धान्तलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरिएको थियो।
सरकारले भने संवैधानिक निकायमा नियुक्ति प्रक्रिया थप व्यवस्थित, छरितो र पारदर्शी बनाउने उद्देश्यसहित अध्यादेश ल्याइएको दाबी गरेको छ।