- by समाचार कक्ष
- Mar 19, 2025
काठमाडौं – नवप्रवर्तन र उद्यमशिलतालाई प्रवर्द्धन गर्ने लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का पछिल्ला एपिसोडहरू दर्शकमाझ दिनप्रतिदिन लोकप्रिय बन्दै गएका छन्। टेलिभिजन तथा युट्युबमार्फत दर्शकहरूको उल्लेखनीय ध्यान खिचिरहेको यो शोको पाँचौं एपिसोड बुधबार प्रसारित भयो।
एपिसोडमा चारवटा स्टार्टअपले लगानीको लागि पिच गरेका थिए, जसमा दुई स्टार्टअपले मात्र सफलता पाए।
‘गुडविस’ नामक सफ्टवेयर र आइटी कम्पनीले अफिसमा रोबोटमार्फत काम गर्ने प्रणाली प्रस्तुत गर्यो। यसको सम्भावनालाई उच्च मूल्यांकन गर्दै चारैजना शार्कले २५ प्रतिशत इक्विटी सट्टामा २ करोड रुपैयाँको संयुक्त लगानी गरे।
त्यस्तै, ‘मणिशंकर पाउरोटी’ले उत्पादन तथा बजार विस्तारका लागि लगानीको माग गर्दै प्रस्तुति दिएको थियो। यो स्टार्टअपमा शार्क सौरभ ज्योतिले २५ प्रतिशत सेयरको बदला १५ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव स्वीकृत गरे।
तर, ‘किक’ ब्रान्डअन्तर्गतको लाइफस्टाइल प्रोडक्ट र मेसिन पसलको अवधारणाले भने शार्कहरूको विश्वास जित्न सकेन, जसका कारण डिल हुन पाएनन्।
‘शार्क ट्यांक नेपाल’ प्रत्येक हप्ता बुधबार र बिहीबार हिमालय टिभीमा प्रसारण हुँदै आएको छ। शोले नेपाली स्टार्टअपहरूलाई लगानी र सल्लाहमार्फत अघि बढ्न प्लेटफर्म प्रदान गरिरहेको छ।