- by समाचार कक्ष
- Mar 06, 2025
साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दै सकारात्मक अवस्थामा बन्द भएको छ । अघिल्लो कारोबार दिन घटेको बजार शुक्रबार १६.३८ अंकले उकालो लागेर २७५८ विन्दुमा पुगेको हो ।
कारोबार अवधिभर बजार निरन्तर बढ्दो क्रममा देखिएको थियो । यस दिन कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार यो रकम बढेर ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
कारोबारमा सहभागी अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । कुल २०३ कम्पनीको मूल्य उकालो लाग्दा ५७ कम्पनी घटेका छन् भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत रूपमा जलविद्युत् क्षेत्र सबैभन्दा बढी १.२९ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका समूहमा पनि सुधार देखिएको छ । व्यापार समूह भने सामान्य गिरावटमा रहेको छ ।
यस दिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै माबिलुङ इनर्जी, आँखुखोला जलविद्युत्, सुपरखुदी हाइड्रोपावर तथा झापा इनर्जीका लगानीकर्ताले पनि उल्लेखनीय लाभ कमाएका छन् ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, नेसनल हाइड्रोपावर, एपीआई पावर र बुंगल हाइड्रोपावर अग्रस्थानमा रहेका छन् । म्युचुअल फन्ड र डिबेन्चर समूहमा भने सबैभन्दा बढी गिरावट देखिएको छ ।