Monday, June 1, 2026

नेपाल-चीन सहकार्य बैठक जुनमा, विकास परियोजना र नेपाली उद्धार मुख्य एजेन्डा


नेपाल र चीनबीच सञ्चालनमा रहेका विकास परियोजनाको प्रभावकारिता र समन्वयबारे छलफल गर्न संयुक्त सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जुनमा नेपालमै आयोजना हुने भएको छ ।

दुई देशबीच सन् २०१८ मा भएको समझदारीअनुसार गठन गरिएको संयन्त्रअन्तर्गत हुन लागेको बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् । चिनियाँ पक्षबाट नेपालस्थित चिनियाँ राजदूत सहभागी हुने जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा चीनको सहयोगमा सञ्चालित पूर्वाधार तथा विकास आयोजनाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका चुनौती र आगामी सहकार्यका विषयमा केन्द्रित छलफल हुनेछ ।

यसैबीच, दक्षिण–पूर्वी एसियामा सञ्चालित अवैध अनलाइन स्क्यामिङ नेटवर्कमा फसेका नेपाली नागरिकको उद्धारलाई सरकारले प्राथमिकतामा राखेको जनाएको छ । पछिल्ला दुई सातामा मात्रै थाइल्याण्ड र म्यानमारको समन्वयमा थप ७१ नेपालीलाई स्वदेश फर्काइएको छ ।

सरकारी तथ्यांकअनुसार हालसम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट सयौँ नेपालीको उद्धार भइसकेको छ । विदेशमा जोखिममा परेका नेपालीको सुरक्षा र उद्धारलाई थप प्रभावकारी बनाइने मन्त्रालयको भनाइ छ ।

त्यस्तै, सरकारले अघि बढाएको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत परराष्ट्र मन्त्रालयले आफ्नो जिम्मेवारीका अधिकांश काममा प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयका अनुसार तोकिएका २४ कार्यमध्ये ११ वटा पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने बाँकी कार्यान्वयनको चरणमा छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like