- by समाचार कक्ष
- Mar 06, 2025
सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया अस्थायी रूपमा रोक लगाएपछि अटो व्यवसायीहरू आकस्मिक छलफलमा जुटेका छन् । अटो व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले यस विषयमा आफ्नो धारणा तय गर्न आपत्कालीन बैठक बोलाएको हो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती का अनुसार सचिवालयमा केहीबेरमै बैठक बस्नेछ । सरकारले अचानक ल्याएको व्यवस्थाले अटो क्षेत्रमाथि पर्ने प्रभावबारे बैठकमा विस्तृत छलफल हुने जनाइएको छ । छलफलपछि नाडाले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।
यसअघि यातायात व्यवस्था विभाग ले सातै प्रदेशका मन्त्रालय तथा देशभरका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न निर्देशन दिएको थियो ।
विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम बढ्दै गएको छ । यही अवस्थालाई नियन्त्रण गर्न दर्ता प्रक्रिया अस्थायी रूपमा रोकिएको बताइएको छ ।