- by समाचार कक्ष
- Mar 06, 2025
२६ फागुन, स्याङ्जा - फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक मतगणनामा पनि अग्रस्थानमा देखिएको छ।
निर्वाचन परिणामअनुसार स्याङ्जा क्षेत्र नम्बर–१ मा रास्वपाले सबैभन्दा धेरै ३३ हजार ४९९ मत प्राप्त गरेको छ। यो संख्या प्रत्यक्षतर्फ पाएको मतभन्दा ४ हजार ४२८ ले बढी हो।
यस क्षेत्रमा नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै १६ हजार ३९९ मत ल्याएको छ। कांग्रेसले प्रत्यक्षतर्फ पाएको मतभन्दा समानुपातिकमा २ हजार ४५८ मत कम पाएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।
त्यस्तै नेकपा (एमाले)ले १४ हजार ४८५ मत प्राप्त गरेको छ, जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा २ हजार ३१९ ले कम हो।
अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ हजार ८७३ मत प्राप्त गर्दा नेकपाले १ हजार ५३१ मत ल्याएको छ। यस क्षेत्रमा समानुपातिकतर्फ कुल ५७ राजनीतिक दल प्रतिस्पर्धामा थिए।
क्षेत्र नम्बर–१ मा कुल १ लाख ३२ हजार ७४५ मतदाता रहेकोमा ७२ हजार ९९ मत खसेको थियो। तीमध्ये २ हजार १३१ मत बदर भएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।
यसैगरी, स्याङ्जा क्षेत्र नम्बर–२ मा पनि समानुपातिकतर्फ रास्वपा नै अग्रस्थानमा देखिएको छ। यहाँ रास्वपाले २९ हजार ५०९ मत प्राप्त गरेको छ, जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा ४ हजार १५५ ले बढी हो।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ हजार ९३१ मत ल्याएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए। तर प्रत्यक्षतर्फ पाएको मतको तुलनामा कांग्रेसको समानुपातिक मत करिब २ हजार ८९९ ले घटेको देखिएको छ।
त्यस्तै एमालेले ११ हजार ६ मत प्राप्त गरेको छ, जुन प्रत्यक्षतर्फ पाएको मतभन्दा करिब ३ हजार १०२ ले कम हो।
अन्य दलमध्ये राप्रपाले १ हजार ३४९ मत पाउँदा नेकपाले १ हजार ४७ मत ल्याएको छ। श्रम संस्कृति पार्टीले पनि १ हजार ९ मत प्राप्त गर्दै हजारभन्दा बढी मत पाउने दलको सूचीमा परेको छ।
यस क्षेत्रमा समानुपातिकतर्फ ५७ दलबीच प्रतिस्पर्धा भएको थियो। तर गतिशील लोकतान्त्रिक पार्टी, स्वाभिमान पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले भने कुनै पनि मत प्राप्त गर्न सकेनन्।
क्षेत्र नम्बर–२ मा कुल १ लाख १७ हजार ९३० मतदाता रहेकामा ६५ हजार १३० मत खसेको थियो। तीमध्ये १ हजार ९९९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।