Thursday, April 16, 2026

महेश बर्तौलालाई हराउँदै २५ वर्षमै संसद् पुगे प्रशान्त उप्रेती


काठमाडौं। यसपटकको निर्वाचनबाट सात जना जेन–जी पुस्ताका प्रतिनिधिहरू संसद्मा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ६ जना र श्रम संस्कृति पार्टीबाट एक जना गरी सात जना युवा सांसद प्रतिनिधिसभामा प्रवेश गर्न लागेका हुन्।

यीमध्ये मकवानपुर–२ बाट निर्वाचित प्रशान्त उप्रेती सबैभन्दा कान्छा प्रतिनिधिसभा सदस्य बनेका छन्। २५ वर्षका उप्रेतीले नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलालाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।

हाल काठमाडौं विश्वविद्यालयमा नेतृत्व तथा व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका उप्रेतीले आफ्नो जितमा जनताको विश्वास, मैदानमा गरिएको मेहनत र जेन–जी आन्दोलनपछि बनेको वातावरणले ठूलो भूमिका खेलेको बताए।

उनले भने, “हामीले गरेको मेहनत, जनतासँगको प्रत्यक्ष काम र पार्टीप्रति देखिएको जनविश्वासका कारण यो सफलता सम्भव भएको हो।”

उप्रेतीले अब आफ्नो क्षेत्रका जनताका समस्या संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार जनताले सुशासनको अपेक्षा राखेर आफूलाई निर्वाचित गराएकाले त्यो विश्वास कायम राख्न जिम्मेवार ढंगले काम गर्नेछन्।

देशकै सबैभन्दा कान्छा सांसद बन्न पाउँदा आफूलाई स्वाभाविक रूपमा खुसी लागेको उनले बताए। साथै भ्रष्टाचार अन्त्य र सुशासन स्थापित गर्न सक्रिय रूपमा काम गर्ने योजना रहेको उनको भनाइ छ।

आगामी दिनमा पार्टीले जिम्मेवारी दिएको खण्डमा आफूले युवा तथा खेलकुद वा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्न रुचि राख्ने उनले बताए। तर मन्त्री बन्नका लागि कुनै प्रकारको लबिङ नगर्ने उनको स्पष्ट भनाइ छ।

मकवानपुर–२ मा उप्रेतीले ३० हजार ५० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी महेश कुमार बर्तौलाले १८ हजार ८४६ मत पाएका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like