- by समाचार कक्ष
- Mar 06, 2025
२६ फागुन, काठमाडौं। काठमाडौं उपत्यकाको वायु गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ। मंगलबार बिहान मापन गरिएको तथ्यांक अनुसार यहाँको वायु प्रदूषण ‘निकै अस्वस्थ’ स्तरभन्दा माथि पुगेको देखिएको छ।
स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन संस्था आईक्यू एयर (IQAir) का अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २०६ पुगेको छ। सामान्यतया AQI १५० भन्दा माथि पुगेपछि अस्वस्थ मानिन्छ भने २०० नाघेपछि ‘निकै अस्वस्थ’ श्रेणीमा राखिन्छ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांक अनुसार ०-५० सम्म राम्रो, ५१-१०० मध्यम, १०१-१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ तथा २०१–३०० ‘निकै अस्वस्थ’ मानिन्छ। सूचकांक ३०१ भन्दा माथि पुगेमा अवस्था ‘खतरनाक’ तहमा पुगेको संकेत गर्दछ।
हालको अवस्थाअनुसार काठमाडौं विश्वका सबैभन्दा अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ। सूचीमा भारतको दिल्ली पहिलो र बंगलादेशको ढाका दोस्रो स्थानमा रहेका छन्। यी दुवै शहरमा पनि वायु प्रदूषण अत्यन्तै उच्च स्तरमा पुगेको छ।
वायु प्रदूषण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्रदूषणका कारण मुटु तथा रक्तनलीसम्बन्धी समस्या, फोक्सोका रोग, दम, क्यान्सर, आँखा तथा मिर्गौलासम्बन्धी समस्या बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।