- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । संविधान तथा प्रशासनविद् काशीराज दाहालले संविधान कार्यान्वयनमै कमजोर देखिएका राजनीतिक दलहरूले चुनावी घोषणापत्रका प्रतिबद्धता पूरा गर्ने विषयमा गम्भीर प्रश्न उठाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा र प्रतिबद्धतासम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै दाहालले संविधान जारी भएको एक दशक बितिसक्दा पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण हुन नसकेको बताए।
उनका अनुसार, संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नु राजनीतिक दल तथा निर्वाचनपछि बन्ने सरकारको पहिलो प्राथमिकता हुनुपर्छ। संविधानमै उल्लेखित प्रावधानहरू प्रभावकारी रूपमा लागू हुन नसकेको अवस्थामा दलहरूले घोषणापत्रमा गरेका वाचा कार्यान्वयन हुनेमा जनताले शंका गर्नु स्वाभाविक भएको उनले उल्लेख गरे।
दाहालले संविधान कार्यान्वयनको पहिलो शर्त नै आवश्यक कानुन निर्माण भएको स्पष्ट पार्दै संविधान प्रवर्द्धनलाई पनि दलहरूको प्राथमिक एजेन्डा बनाउनुपर्ने धारणा राखे। साथै, कार्यान्वयन प्रक्रियामा देखिएका समस्या र अवरोधहरूको गहिरो अध्ययन अपरिहार्य रहेको उनले बताए।
उनले राजनीतिक दलहरूले समयमै स्पष्ट कार्ययोजना ल्याएको भए आज पुनः घोषणापत्रमार्फत उही प्रतिबद्धता दोहोर्याउनुपर्ने अवस्था नआउने जिकिर गरे।
अधिकांश दलले चुनावी घोषणापत्रमा सुशासनको प्रतिवद्धता जनाए पनि लामो समयदेखि सत्तामा रहेका दलहरूले विगतमा किन सुशासन कायम गर्न सकेनन् भन्ने प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने दाहालको भनाइ थियो।