- by समाचार कक्ष
- Mar 06, 2025
विराटनगर - विराटनगरको कञ्चनबारीस्थित सिटिजन्स बैंकमा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ। बैंकको आन्तरिक लेखापरीक्षणले कर्मचारीको मिलेमतोमा ठूलो रकम हिनामिना भएको खुलासा गरेपछि प्रशासनले प्रहरीले उजुरी गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविद कट्टुवालका अनुसार, “उजुरी परेको छ र हामी छानबिन गरिरहेका छौँ। अनुसन्धान जारी रहेकाले अहिले विस्तृत विवरण दिन सकिने अवस्था छैन।” अनुसन्धानका लागि आवश्यक कागजातहरू पनि प्रहरीलाई उपलब्ध गराइएको छ।
बैंक स्रोतका अनुसार, यस घोटालामा पाँच जना कर्मचारी संलग्न छन्। कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा फिक्स डिपोजिटमा राखिएको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने तरिकाले हिनामिना गरिएको पाइएको छ।
बैंक प्रशासनले आन्तरिक लेखापरीक्षणपछि संलग्न कर्मचारीहरूलाई निलम्बन गरेको छ। हिनामिना रकमको असुल र दोषीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिइएको छ।