- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा आएको ठूलो मूल्यवृद्धिको विरोध गर्दै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले जेठ २ गते रातिदेखि डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको भोलिपल्ट महासंघले विज्ञप्ति जारी गरी आफ्नो गम्भीर ध्यानाकर्षण गराएको हो। महासंघले एकैपटक यति ठूलो मूल्य बढ्दा यातायात व्यवसायी र आम उपभोक्तामा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ।
महासंघका महासचिव डकनाथ गौतमले भने, “सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर रहने भएकाले मूल्यमा परिवर्तन भएमा व्यवसायमा प्रत्यक्ष प्रभाव पर्छ।”
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि २०७८ फागुन २२ गतेदेखि कुनै समायोजन नभएको भन्दै महासंघ असन्तुष्ट छ।
महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकलाई आधार मानेर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ। संघीय रुटमा यातायात व्यवस्था विभाग तथा प्रदेश अन्तर्गत रुटमा सम्बन्धित सातै प्रदेशका मन्त्रालयमार्फत यथाशीघ्र भाडा समायोजन गरिनुपर्ने उनीहरूको आग्रह छ।
साथै व्यवसायीहरूले नेपाल आयल निगमले केवल मूल्य वृद्धि गरेर मात्र समस्या समाधान नहुने भन्दै, निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण र वैज्ञानिक विधि अपनाएर पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न समेत सरकारसँग आग्रह गरेका छन्।