Monday, June 1, 2026

संसदमा प्रधानमन्त्रीबारे प्रश्नैप्रश्न, हर्क साम्पाङको राजीनामा माग


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रधानमन्त्रीको भूमिका र जवाफदेहिताबारे प्रश्न उठाइएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहसँग सम्बन्धित विषयमा स्पष्ट जवाफ माग गर्दै राजीनामासमेत माग गरेका छन् ।

बैठकमा बोल्दै साम्पाङले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने दाबी गरे । उनले प्रधानमन्त्री संसद्को सदस्य हो वा होइन भन्ने प्रश्नसमेत सभामुखसमक्ष राखेका थिए ।

साम्पाङले १० दिनअघि गृह तथा रक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा आफूले उठाएका प्रश्नहरूको अझै जवाफ नआएको उल्लेख गर्दै आपत्ति जनाए । उनका अनुसार गृह मन्त्रालयअन्तर्गतका सुकुम्बासी समस्या, शान्ति सुरक्षा र सीमा विवाद जस्ता विषयमा प्रश्न सोधिएको थियो ।

उनले प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकाले सबै प्रश्नको जवाफ दिनुपर्ने बताए । साथै, नियमअनुसार ७ दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था भए पनि १० दिन बितिसक्दा पनि उत्तर नआएको भन्दै उनले प्रधानमन्त्रीले संसद्को गरिमा जोगाउन नसकेको आरोप लगाए ।

साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले पदबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा पुनः दोहोर्‍याए ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like