- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै कडा टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री संसद्को अभिन्न अंग हो कि “भिन्दै साम्राज्यको सम्राट” भन्ने प्रश्न उठाउँदै जवाफदेहितामाथि गम्भीर प्रश्नचिन्ह खडा गरे ।
उनले गृह मन्त्रालयसमेत प्रधानमन्त्रीकै जिम्मामा रहेको उल्लेख गर्दै अत्यन्त संवेदनशील विषयहरूमा सरकार गम्भीर नभएको टिप्पणी गरे । केसीले प्रधानमन्त्रीको भूमिका र संसदीय उत्तरदायित्वबारे स्पष्टता आवश्यक रहेको धारणा राखे ।
साथै उनले आगामी १५ दिनपछि सुरु हुने मनसुनलाई लक्षित गर्दै पूर्वतयारीमा सरकार कमजोर देखिएको बताए । विगतका वर्षहरूमा भएको क्षतिबाट सिकेर प्रभावकारी कार्ययोजना नबनाए ठूलो जोखिम दोहोरिन सक्ने उनको चेतावनी थियो ।
केसीले विगतका त्रुटिहरू दोहोर्याएर मात्र क्षति नियन्त्रण गर्न नसकिने भन्दै योजनाबद्ध तयारी र कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।