- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १३ फागुन - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हिरासत मुक्त भएका छन्।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको पक्षमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको थियो। गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उमा प्रसाईंले गत साता सर्वोच्चमा निवेदन दर्ता गराएकी थिइन्।
निर्वाचन प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै निर्वाचन आयोगले प्रहरीलाई कारबाहीका लागि पत्राचार गरेको थियो। सोही पत्रका आधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाट पक्राउ गरेको जनाएको थियो।
यद्यपि मंगलबार नै रिहाइको आदेश भए पनि कार्यालय समयभित्र आवश्यक प्रक्रिया पूरा हुन नसक्दा उनी बुधबार मात्र हिरासतबाट मुक्त भएका हुन्।