- by समाचार कक्ष
- Mar 06, 2025
नेपालकै एक मात्र रबर उद्योगको रूपमा स्थापना भएको यस उद्योगले २०५० को दशकदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर हाल उद्योग पूर्ण रूपमा बन्द अवस्थामा छ।
मित्र राष्ट्र चीनको सहयोगमा स्थापना गरिएको यो उद्योग कुनै समय राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा महत्वपूर्ण योगदान दिने अग्रणी औद्योगिक प्रतिष्ठानका रूपमा परिचित थियो। सरकारी तथा निजी क्षेत्रको साझेदारीमा सञ्चालित उद्योगले वार्षिक १ लाख २० हजार हेभी र लाइट टायर उत्पादन गर्ने लक्ष्य लिएको थियो। सञ्चालनका क्रममा करिब ८८ हजार टायर वार्षिक उत्पादन हुँदै आएको थियो।
उद्योगले ट्रकका लागि १२ प्रकार, जीप तथा भ्यानका लागि ५ प्रकार र साना कारका लागि ६ प्रकारका टायर उत्पादन गर्दै आएको थियो। करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट तथा नेपाल साल्ट ट्रेडिङलगायत संस्थाको लगानी रहेको थियो।
सुरुवाती चरणमै करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए। देशको कुल टायर तथा ट्युब मागको करिब ४० प्रतिशत हिस्सा आपूर्ति गर्न सफल उद्योगले विदेशी उत्पादनसँग समेत प्रतिस्पर्धा गर्दै आएको थियो। यहाँ उत्पादित टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकमा निर्यातसमेत हुने गर्दथ्यो।
काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरसहित देशका ३० प्रमुख शहरमा डिपो स्थापना गरी व्यवस्थित बजार सञ्जाल बनाएको यो उद्योग गोरखाको मात्र नभई राष्ट्रकै औद्योगिक प्रतिष्ठाको प्रतीक बनेको थियो।
तर विगत एक दशकदेखि उद्योग पूर्ण रूपमा बन्द छ। करिब १० अर्ब रुपैयाँ बराबरको राज्य सम्पत्ति अलपत्र अवस्थामा छ भने उद्योग परिसर झाडी र घारीले ढाकिएको छ। मेसिनहरू खिया लागेर बिग्रँदै गएका छन्।
अहिले सुनसान बनेको परिसरमा उद्योगको सुरक्षा र रेखदेखका लागि सीमित सुरक्षाकर्मी मात्र खटिएका छन्।