Sunday, May 31, 2026

सुर्तीजन्य पदार्थमा कर बढाउन सांसद बरालको माग, स्वास्थ्य जोखिम घटाउन सरकारलाई दबाब


काठमाडौं । नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन् । उनले कर बढाएर सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्न सकिने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बरालले सुर्तीजन्य पदार्थको प्रयोगले ठूलो जनस्वास्थ्य संकट निम्त्याइरहेको बताए । उनले नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट करिब ८५ लाखभन्दा बढी नागरिक प्रभावित रहेको र वार्षिक करिब ३९ हजार जनाको मृत्यु हुने तथ्यांक प्रस्तुत गरे ।

सांसद बरालका अनुसार १४ देखि २४ वर्ष उमेर समूहका करिब ८ लाख युवा तथा विद्यार्थी सुर्तीजन्य पदार्थको लतमा फसेका छन् । उनले भारत र बंगलादेशको तुलनामा नेपालमा सुर्तीजन्य पदार्थमा करको दर कम रहेको उल्लेख गर्दै तत्काल वृद्धि गर्नुपर्ने बताए ।

उनले विश्व स्वास्थ्य संगठन (WHO) को सुझावअनुसार पनि कर वृद्धि नै सुर्तीजन्य पदार्थ नियन्त्रणको प्रभावकारी उपाय भएको बताए । उनका अनुसार भारतमा कर दर ५८ प्रतिशत र बंगलादेशमा ७३ प्रतिशत हुँदा नेपालमा भने करिब ४० प्रतिशत मात्र रहेको छ ।

सांसद बरालले कर वृद्धि नै सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी कदम हुने भन्दै सरकारलाई तत्काल नीति सुधार गर्न आग्रह गरेका छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like