Sunday, May 31, 2026

‘संकटबाट भाग्ने होइन, सामना गर्ने हो’ : शङ्कर पोखरेलको विपक्षीलाई कटाक्ष


काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संकट र चुनौतीको समयमा निराशा र पलायनतामा जानु कायरता भएको बताएका छन्। भारतको हालै सम्पन्न विधानसभा निर्वाचनमा वामपन्थी दल कमजोर बनेको सन्दर्भलाई जोड्दै नेपालमा पनि वाम आन्दोलन संकटमा परेको विश्लेषणप्रति उनले कटाक्ष गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले सच्चा क्रान्तिकारीले संकटबाट भाग्ने नभई त्यसलाई अवसरमा बदल्ने क्षमता राख्ने बताएका छन्। उनले संकट र चुनौतीलाई सामना गर्दै प्रतिकूल अवस्थालाई अनुकूलतामा रूपान्तरण गर्नु नै क्रान्तिकारी सोच भएको उल्लेख गरेका छन्।

पोखरेलले भारतको केरला राज्यमा वामपन्थी दलको हारलाई लिएर नेपालको वाम आन्दोलनमाथि प्रश्न उठाइनु उचित नभएको टिप्पणी गरेका छन्। केरला राज्यमा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुने परम्परा रहेको स्मरण गराउँदै उनले अघिल्लो निर्वाचनमा भने वाम गठबन्धन पुनः सत्तामा फर्किएको उदाहरण प्रस्तुत गरेका छन्।

उनले नेपालको वामपन्थी आन्दोलनको भविष्य कुनै एक चुनावी परिणामले निर्धारण नहुने जिकिर गरेका छन्। जनताको हित, राष्ट्रप्रतिको प्रतिबद्धता, भविष्यमुखी एजेन्डा र जनतासँगको सम्बन्धले मात्रै वाम आन्दोलनको दिशा तय गर्ने उनको भनाइ छ।

पोखरेलले हालको पराजय केवल वामपन्थीहरूको मात्रै नभई समग्र लोकतान्त्रिक शक्तिहरूको हार भएको दाबी गरेका छन्। लोकतान्त्रिक आन्दोलनका आधार शक्तिहरूले हारको कारण खोजी गर्दै गम्भीर समीक्षा, पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like