- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । सरकारले विभिन्न समयका राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेश जारी गरेपछि सरकारी, अर्धसरकारी तथा स्वायत्त निकायमा पदाधिकारी हटाउने प्रक्रिया तीव्र बनेको छ। तर, नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देव भने पदमै कायम रहेपछि सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेको छ।
अध्यादेशअनुसार विभिन्न पेशागत काउन्सिलका रजिस्ट्रारहरू स्वतः पदमुक्त भए पनि जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित नेपाल मेडिकल काउन्सिलमा भने डा. देवलाई यथावत् राखिएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अध्यादेश जारी हुनुअघि नै उनको पदमुक्तिबारे छलफल भए पनि प्रधानमन्त्री कार्यालयबाट तत्काल कुनै कदम नचाल्न निर्देशन आएको बताइएको छ।
डा. देवको नियुक्ति र पद जोगिएको विषयलाई लिएर मन्त्रालयभित्र विभिन्न चर्चा चलिरहेका छन्। उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको दबाबमा नियुक्त गरिएको दाबी गरिँदै आएको छ। पछिल्लो समय उनी प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीसँग निकट रहेको चर्चा पनि छ। डा. कार्की प्रधानमन्त्री बालेन्द्र शाह निकट मानिन्छिन्।
प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा डा. देव महानगरअन्तर्गत सञ्चालित सुलभ फार्मेसीसँग जोडिएका थिए। साथै, उनी स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधानसँग पनि नजिक रहेको बताइन्छ। डा. देव दन्त चिकित्सक हुन्। स्वास्थ्यमन्त्री निशा मेहताका पति डा. सरोज सिंह पनि नेपाल प्रहरीको प्राविधिक सेवामा डीएसपी तहका दन्त चिकित्सक हुन्।
यता, रजिस्ट्रार डा. सतिशकुमार देवले भने आफ्नो पद जोगाउन कुनै किसिमको भनसुन नगरेको बताएका छन्। नेपाल प्रेससँगको कुराकानीमा उनले पछिल्लो एक महिनायता कार्यालयका नियमित सरोकारवालाबाहेक कसैसँग भेट नभएको दाबी गरे।
उनले मन्त्रालयबाट अन्य नियुक्त पदाधिकारी पदमुक्त भएको पत्र आए पनि आफ्नो नाम नरहेको बताए। “म सरकारबाट नियुक्त व्यक्ति हुँ, सरकारले जे निर्णय गर्छ, त्यही मान्छु,” उनले भने, “यदि पदमुक्त गरिएको भए यहाँ बसिरहन मिल्दैनथ्यो।”
डा. देवले आफ्नो पद कार्यकारी र संवेदनशील भएकाले तत्काल हटाउँदा दैनिक कामकाजमा असर पर्न सक्ने तर्कसमेत गरेका छन्। मन्त्रिपरिषद्बाट नियुक्ति भएकाले यसलाई राजनीतिक नियुक्ति भन्न मिल्ने भए पनि आफू कुनै राजनीतिक पक्षसँग आबद्ध नरहेको उनको भनाइ छ।