- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले उत्तरपुस्तिकाको विवरण इन्ट्री सकिएपछि अहिले रुजु गर्ने काम तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। उनले हिजोदेखि रुजु प्रक्रिया सुरु भएको जानकारी दिँदै निर्धारित समयभित्रै नतिजा सार्वजनिक गरिने बताएका छन्।
यसवर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा सकिएलगत्तै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो, जसले नतिजा प्रकाशन प्रक्रियालाई छिटो बनाउन सहयोग पुगेको बोर्डको भनाइ छ।
एसईई परीक्षाका लागि यसपटक कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।