- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने क्रममा राज्यको व्यवहार अमानवीय र क्रूर देखिएको टिप्पणी गरेका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बस्ती खाली गराउने क्रममा पर्याप्त समय, विकल्प र मानवतामूलक व्यवस्थापन नगरी बल प्रयोग गरिएको भन्दै आपत्ति जनाए ।
पौडेलका अनुसार बस्तीमा रहेका सबै व्यक्ति जग्गा कब्जा गर्ने उद्देश्यले मात्र नभई वास्तविक सुकुमवासी पनि भएकाले उनीहरूको वर्गीकरण र उचित व्यवस्थापन आवश्यक थियो । तर, राज्यले त्यसतर्फ ध्यान नदिएको उनको आरोप छ ।
उनले बस्ती हटाउने क्रममा बालबालिका, सुत्केरी महिला तथा वृद्धवृद्धाप्रति कुनै संवेदनशीलता नदेखिएको भन्दै यसले गम्भीर मानवीय र मानसिक असर पारेको बताए ।
‘वास्तविक सुकुमवासी र अन्यलाई छुट्याएर वैकल्पिक व्यवस्था र समयसीमा दिइनुपर्थ्यो, तर राज्यले त्यो गर्न सकेन,’ पौडेलले भने, ‘यसरी गरिएको कार्यले सबै उमेर समूहमा गहिरो मानसिक चोट पुगेको छ ।’
उनले विस्थापित परिवारका लागि वैकल्पिक व्यवस्था र मनोवैज्ञानिक परामर्श आवश्यक रहेको उल्लेख गर्दै राज्यको कार्यशैलीप्रति गम्भीर पुनर्विचार गर्नुपर्ने बताए ।