- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपालमा संघीय बजेट सामान्यतया दिउँसो ४ बजे सार्वजनिक गर्ने परम्परा रहँदै आएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि आज सोही समयमा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।
बजेटलाई ४ बजे प्रस्तुत गर्नुको पछाडि कुनै एक मात्र निश्चित कारण नभए पनि विभिन्न प्रशासनिक, प्रक्रियागत र व्यवहारिक कारणहरू जोडिएको देखिन्छ ।
जानकारहरूका अनुसार बजेट प्रस्तुत हुनुअघि राष्ट्रिय योजना आयोगको बैठक, अर्थ मन्त्रालयको अन्तिम तयारी र मन्त्रिपरिषद्बाट स्वीकृति लगायतका प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने गर्छ । त्यसैगरी गणतन्त्र दिवसका औपचारिक कार्यक्रमका कारण पनि बिहानै बजेट प्रस्तुत गर्न सम्भव हुँदैन ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार बजेट भाषणअघि अर्थमन्त्री मात्र होइन, मन्त्रालयका टोली रातिसम्म खटिएर अन्तिम तयारी गर्छन्, जसका कारण बिहानै संसद्मा प्रस्तुत गर्ने अवस्था हुँदैन ।
त्यस्तै, ४ बजेपछि भन्सार कार्यालयहरू बन्द हुने भएकाले नयाँ बजेटअनुसारका महसुल दर रातिबाट लागू गर्न सहज हुने हुँदा पनि सोही समयलाई उपयुक्त मानिएको बताइन्छ ।
यससँगै, बजेट सार्वजनिक भएपछि सर्वसाधारणले फुर्सदको समयमा सुन्न र बुझ्न सक्ने भएकाले पनि दिउँसोको समय रोज्ने गरिएको अनुमान गरिन्छ ।
तर, बजेट ४ बजे नै प्रस्तुत गर्नुको कुनै औपचारिक र एकमात्र कारण भने स्पष्ट रूपमा स्थापित छैन ।