Monday, March 2, 2026

सिंहदरबारको नयाँ भवनमै नयाँ संसद् बैठक सुरु हुने


काठमाडौं, १८ माघ – संघीय संसद् सचिवालयले प्रतिनिधिसभा निर्वाचनपछि, २१ फागुनमा निर्वाचित नयाँ संसद्को बैठक सिंहदरबारस्थित नयाँ संसद् भवनमै हुने पुष्टि गरेको छ।

सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले संसद्को बैठक तत्काल सञ्चालनका लागि सरकारसँग निरन्तर सम्वाद भइरहेको बताए। उनले हाल अन्य कुनै विकल्पबारे छलफल नभएको र नयाँ भवनमै बैठक सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार नयाँ संसद् भवनमा न्यूनतम आवश्यक पूर्वाधार उपलब्ध हुने विश्वास सचिवालयलाई छ।

प्रवक्ता गिरीले बैठक आह्वान हुनुभन्दा १५–२० दिनअघि सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध गराइने जानकारी पनि दिए। प्रतिनिधिसभा पक्षमा निर्माण भइरहेको १२ कक्षमध्ये ६ कक्ष बैठक सञ्चालनका लागि तयार हुने अनुमान गरिएको छ।

सचिवालयले सुरुमा न्यूनतम पूर्वाधारसहित बैठक सञ्चालन गर्ने योजना बनाएको छ भने अन्य कार्यहरू क्रमशः नयाँ भवनबाट अघि बढाइनेछ। यसअघि सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचार पनि गरेको थियो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like