- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा, कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्धको राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषज्ञ हटाउन आदेश जारी गरेको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले महालेखा परीक्षकको कार्यालय, आन्तरिक राजस्व विभाग र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट पेश भएका विशेषज्ञलाई यस मुद्दाबाट हटाउन निर्देशन दिएको हो।
यसअघि शर्मा र अन्यले विशेष अदालतले राजस्व चुहावटमा दोषी ठहर गर्दा विशेषज्ञको रायमाथि आफ्नो जिरह गर्ने अवसर नपाएको भन्दै सर्वोच्च अदालतमा अपिल गरेका थिए। उनीहरूको दाबी छ कि विशेषज्ञको रायका आधारमा फैसला गर्दा आफ्नो पक्ष सुनिने अवसर नपाएको कारण निष्पक्ष सुनुवाइ हुन सकेन।
स्मरणीय छ, विशेष अदालतले पहिले तीनै पदाधिकारीलाई ९ वर्षको जेल सजाय सुनाएको थियो र कर फर्छ्यौट आयोगबाट ६ अर्ब १५ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै हरेकलाई २ अर्ब ५ करोड रुपैयाँ तिर्न निर्देशन गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने आयोगका पदाधिकारीहरूले म्यान्डेटभन्दा बाहिर गएर करदाताहरूसँग समझदारी गरी राज्यको राजस्वमा क्षति पुर्याएको ठहर गरेको छ।