Sunday, May 31, 2026

‘सहानुभूति होइन, अवसर चाहिन्छ’ : कर्णाली अझै राज्यको मूलधारबाट टाढा रहेको सोनाम भुट्टीको गुनासो


सुर्खेत । डोल्पाकी शिक्षाकर्मी सोनाम भुट्टी गुरुङले कर्णालीका दुर्गम हिमाली बस्तीहरू अझै पनि राज्यका आधारभूत सेवा र सुविधाबाट वञ्चित रहेको बताएकी छन्। उनले कर्णालीका नागरिकलाई दयाको दृष्टिले होइन, सम्भावनाले भरिएको समुदायका रूपमा हेर्नुपर्नेमा जोड दिइन्।

वीरेन्द्रनगरमा जारी कर्णाली छोरी सम्मेलनअन्तर्गत ‘प्रेरणाको प्रतिविम्ब’ सत्रमा बोल्दै गुरुङले डोल्पा, मुगु र हुम्लाका बासिन्दाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र आवासजस्ता आधारभूत आवश्यकतामा समेत कठिनाइ भोगिरहेको उल्लेख गरिन्।

उनका अनुसार हिमाली जिल्लाका धेरै विद्यार्थीले वर्षको सीमित समय मात्र विद्यालय जान पाउने अवस्था छ, जसका कारण उनीहरू अन्य क्षेत्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न पछि परिरहेका छन्। आरक्षणको व्यवस्था गर्नुभन्दा पहिले आधारभूत सेवा र अवसरको सुनिश्चितता आवश्यक रहेको उनको भनाइ थियो।

गुरुङले महिलाको शिक्षा र आत्मनिर्भरता नै सामाजिक रूपान्तरणको मुख्य आधार भएको बताउँदै आफ्नो जीवनको प्रेरणास्रोत आमालाई मानिन्। छोरीलाई अझै पनि ‘अर्काको घर जाने’ दृष्टिकोणले हेर्ने प्रवृत्ति समाजमा विद्यमान रहेको उल्लेख गर्दै उनले महिलाहरूलाई शिक्षा, कानुनी अधिकार र आत्मविश्वासका माध्यमबाट विभेदविरुद्ध सशक्त बन्न आग्रह गरिन्।

कार्यक्रममा अर्की वक्ता तथा एमबीबीएस अध्ययनरत झरना बडुवालले कर्णालीमा भौतिक पूर्वाधारको विकास भए पनि लैङ्गिक समानताको क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताइन्। उनले छोरीहरूको भविष्य र करियरलाई अझै विवाहसँग जोडेर हेर्ने सोच कायम रहेको भन्दै महिलाले आफ्नो क्षमता अनुसार अवसर पाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन्।

बडुवालले कर्णालीमा मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा उच्च रहेको तथ्य प्रस्तुत गर्दै स्वास्थ्य सेवाको पहुँच अभाव र पितृसत्तात्मक सोचलाई यसको प्रमुख कारणका रूपमा औँल्याइन्। महिलाहरूले आफ्ना स्वास्थ्यसम्बन्धी समस्या खुला रूपमा राख्न नसक्ने र स्वास्थ्यलाई प्राथमिकतामा नराख्ने प्रवृत्ति अझै कायम रहेको उनको भनाइ थियो।

उक्त सत्रको सहजीकरण पत्रकार यज्ञ खत्रीले गरेका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like