- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभामा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको उक्त विधेयकमाथि सांसदहरूले समावेशी प्रतिनिधित्वलाई थप सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न प्रस्ताव अघि सारेका हुन्।
सांसद सुरेशकुमार आले मगरसहितका सदस्यहरूले राजनीतिक दलहरूले उम्मेदवार चयन गर्दा अपाङ्गता भएका व्यक्तिको समेत अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन्। उनीहरूको संशोधनले निर्वाचन प्रक्रियामा अपाङ्गता भएका नागरिकको सहभागिता र पहुँच बढाउने लक्ष्य राखेको छ।
यस्तै, सांसद पदमबहादुर परियारसहितका सदस्यहरूले बन्दसूचीमा समावेशी आधार निर्धारण गर्दा थप स्पष्टता आवश्यक रहेको उल्लेख गरेका छन्। उनीहरूले अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्थासँगै तराई दलित समुदायलाई पनि समावेशी व्यवस्थाभित्र स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने माग गरेका छन्।
त्यसैगरी, सांसद खम्मबहादुर खातीसहितका सदस्यहरूले बन्दसूचीतर्फको उम्मेदवारीमा समावेशीकरणका आधार र मापदण्ड अझ स्पष्ट र व्यवस्थित बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।
राष्ट्रिय सभामा दर्ता भएका यी संशोधन प्रस्तावहरूले निर्वाचन प्रणालीमा समावेशी प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने विषयमा बहसलाई नयाँ आयाम दिएको छ।