- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सरकारसँग तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ निर्माण गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको विशेष समयमा बोल्दै उनले सडक दुर्घटनाका कारण बढ्दो मानवीय क्षतिलाई रोक्न प्रभावकारी नीति आवश्यक भएको बताइन् । उनका अनुसार सरकार अहिले नै गम्भीर नभए भविष्यमा थप ठूलो जनधनको क्षति हुने जोखिम रहन्छ ।
सांसद कार्कीले सडक पूर्वाधार विस्तार भइरहे पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न नसक्नु राज्यको नीतिगत तथा नैतिक असफलता हुने टिप्पणी गरिन् । उनले सडक निर्माणसँगै दुर्घटना न्यूनीकरणका लागि ठोस नीति र कार्यान्वयन संयन्त्र आवश्यक रहेकोमा जोड दिइन् ।
उनले भनिन्, ‘राज्यले कर उठाउँछ, सडक बनाउँछ, तर आफ्ना नागरिकलाई सडक दुर्घटनाबाट जोगाउन सक्दैन भने त्यो केवल प्रशासनिक कमजोरी होइन, राज्यको नैतिक पराजय हो ।’
कार्कीले अघिल्ला सरकारको कमजोरीभन्दा पनि वर्तमान सरकारप्रति नागरिकको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै अब ढिलाइ नगरी ‘राष्ट्रिय ट्रमा नीति’ तत्काल निर्माण गर्नुपर्ने बताइन् । उनले यस्तो नीति लागू गर्न सकिए सडक दुर्घटनाबाट हुने मृत्यु र क्षति उल्लेखनीय रूपमा घटाउन सकिने दाबी गरिन् ।