- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १३ जेठ । सरकारले सञ्चालन गर्दै आएको ‘सडक बालबालिका मुक्त नेपाल’ अभियानअन्तर्गत पछिल्लो १० वर्षमा २ हजार ६ सय ५८ जना सडक बालबालिकाको उद्धार गरिएको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०७३ वैशाख २७ देखि २०८२ फागुनसम्म उद्धार गरिएका बालबालिकालाई संरक्षण तथा व्यवस्थापनको दायरामा ल्याइएको हो ।
प्रतिवेदनअनुसार उद्धार गरिएका बालबालिकामध्ये २ हजार २५८ जना बालक र ४०० जना बालिका रहेका छन् । यो संख्या कुल उद्धार गरिएका बालबालिकामध्ये क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म मात्रै १०५ जना सडक बालबालिकाको उद्धार गरिएको उल्लेख छ । यसमध्ये ६९ जना बालक र ३६ जना बालिका रहेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा २०४ जना तथा २०८०/८१ मा २३५ जना बालबालिकाको उद्धार गरिएको थियो ।
राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा स्थानीय तहहरूको सहकार्यमा सञ्चालन भइरहेको अभियानमार्फत उद्धार गरिएका बालबालिकालाई विभिन्न संरक्षण गृहमा राखी शिक्षा, स्वास्थ्य सेवा र सामाजिकीकरणको व्यवस्था गरिएको सरकारले जनाएको छ ।
यस्तै, देशभरका ७५३ स्थानीय तहमध्ये ३९४ स्थानीय तहमा स्थानीय बाल अधिकार समिति गठन भइसकेको छ भने ३१० स्थानीय तहले स्थानीय बाल कोष स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।