- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १३ जेठ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ५ लाख २५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएको तथ्य सार्वजनिक भएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म ५ लाख २५ हजार ५ सय १३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सर्वेक्षणअनुसार हालसम्म नयाँ श्रम स्वीकृति लिने नेपालीको कुल संख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ । यसमध्ये ९२.९ प्रतिशत पुरुष र ७.१ प्रतिशत महिला रहेका छन् ।
चालु आर्थिक वर्षको आठ महिनामा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या २ लाख ७३ हजार ५ सय ३० रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.७ प्रतिशतले कम हो । तर पुनः श्रम स्वीकृति लिएर विदेश फर्किनेको संख्या भने १५.९ प्रतिशतले बढेर २ लाख ५१ हजार ९ सय ८३ पुगेको छ ।
यस अवधिमा वैदेशिक रोजगारीमा जाने कुल कामदारमध्ये पुरुषको हिस्सा ८७.९ प्रतिशत र महिलाको हिस्सा १२.१ प्रतिशत रहेको छ । सरकारले हालसम्म १११ देशमा संस्थागत रूपमा श्रम स्वीकृति खुला गरिसकेको जनाएको छ ।
आर्थिक सर्वेक्षणले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२६ को जनवरीदेखि मे २१ सम्म २ हजार ४ सय ८२ नेपाली कामदार कोरिया गएको उल्लेख गरेको छ ।
यसैबीच, नेपालमा काम गर्न आउने विदेशी नागरिकको संख्या पनि सार्वजनिक गरिएको छ । फागुनसम्म ३९५ विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएका छन् भने ८९० जनाले श्रम स्वीकृति नवीकरण गराएका छन् ।
वैदेशिक रोजगारीको क्रममा हुने मृत्यु र दुर्घटनाको तथ्याङ्क पनि चिन्ताजनक देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म १ हजार ८६ नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन् । मृतकका परिवारलाई ६३ करोड २२ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
यस्तै, गम्भीर बिरामी वा अङ्गभङ्ग भएका ६०१ जना श्रमिकले आर्थिक सहायता पाएका छन् भने मृत्यु भएका श्रमिकका ३ हजार ४ सय ८७ जना सन्ततिले छात्रवृत्ति सुविधा प्राप्त गरेका छन् ।
वैदेशिक रोजगार ठगी नियन्त्रणका लागि सरकारले कानुनी प्रक्रिया पनि अघि बढाएको जनाएको छ । फागुनसम्म २७३ वटा मुद्दा अदालतमा दायर गरिएको र पीडितलाई ३ करोड ५० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराइएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।