- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त रिटलाई आउँदो चैत १ गते पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश जारी गरेको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्धका मुद्दा संशोधन गर्दै सहकारी ठगीको मामलामा मात्र मुद्दा अघि बढाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्। यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले रिट दायर गरेका थिए।
महान्यायाधिवक्ताको निर्देशन अनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले सुनुवाइ हुन सकेको छैन। त्यस्तै, काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयहरूले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि कुनै निवेदन दर्ता गराएका छैनन्।