- by समाचार कक्ष
- Mar 06, 2025
पोखरा - आपराधिक पृष्ठभूमिका कारण लामो समयदेखि चर्चामा रहेका दीपक मनाङे (राजीव गुरुङ) र मिलन गुरुङ उर्फ चक्रे मिलन फेरि एकपटक संयोगले चर्चामा आएका छन्। एकातिर चक्रे मिलन चुनावमा पराजित भएका छन् भने अर्कोतर्फ मनाङे कैद सजाय पूरा गरी कारागारबाट मुक्त भएका छन्।
मनाङे सक्रिय राजनीतिमा रहँदासम्म चक्रे मिलन खासै सार्वजनिक रूपमा देखिएका थिएनन्। अघिल्लो निर्वाचनमा मनाङ जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङे पछि मन्त्रीसमेत बने। त्यही समयमा चक्रे मिलन भने गोरखाबाट प्रतिनिधि सभा सदस्य बन्ने तयारीमा थिए, तर प्राविधिक कारणले उम्मेदवार बन्न पाएनन्।
यसपटक चक्रे मिलन भने सक्रिय रूपमा चुनावी मैदानमा उत्रिए। नेकपा एमालेबाट टिकट लिएर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका उनले करिब ३ हजार मत मात्र प्राप्त गरे र जमानतसमेत जफत हुने गरी पराजित भए। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले २६ हजार ६६० मतसहित विजय हासिल गरे।
यता, चक्रे मिलन चुनावमा पराजित भएको दुई दिन नबित्दै मनाङे जेलमुक्त भएका छन्। काठमाडौँको डिल्लीबजार कारागारबाट बुधबार उनी रिहा भएका हुन्।
मनाङेलाई २०६१ साल वैशाख ३१ गते काठमाडौँको महाराजगञ्जमा खुकुरी प्रहार गरेको अभियोगमा अदालतले ५ वर्ष कैद सजाय सुनाएको थियो। चक्रे मिलनमाथि भएको सो आक्रमणसम्बन्धी मुद्दामा दोषी ठहर भएका मनाङेले बाँकी रहेको १ वर्ष ४ महिना कैद भुक्तान गरेपछि रिहा भएका हुन्।
यसअघि उनले विभिन्न चरणमा २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका थिए। पछिल्लो पटक उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए। कैद सजायमध्ये २० प्रतिशत छुट पाउँदै उनले बाँकी अवधि पूरा गरेपछि कारागारमुक्त भएका हुन्।