- by समाचार कक्ष
- Mar 06, 2025
२७ फागुन, काठमाडौं - अमेरिका र इजरायलले इरानविरुद्ध थालेको सैन्य अभियान ११औँ दिनमा प्रवेश गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच यस विषयमा केही नीतिगत असहमति देखिएको छ।
फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति भान्स युद्ध सुरु गर्ने विषयमा आफूजस्तो उत्साही नरहेको स्वीकार गर्दै दुवैबीच “दार्शनिक दृष्टिकोण” मा केही फरक रहेको बताए।
सामान्यतया अधिकांश आन्तरिक तथा अन्तर्राष्ट्रिय मुद्दामा समान धारणा राख्ने ट्रम्प र भान्सबीच इरान युद्धको विषय भने फरक दृष्टिकोण देखिएको दुर्लभ उदाहरण बनेको छ।
सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित बलिया उम्मेदवारका रूपमा हेरिएका उपराष्ट्रपति भान्स विगतदेखि नै विदेशी हस्तक्षेपप्रति आलोचनात्मक धारणा राख्दै आएका छन्।
सन् २०२३ मा उनले लेखेको एक लेखमा ट्रम्पलाई समर्थन गर्नुको एउटा प्रमुख कारण अमेरिकी नागरिकलाई अनावश्यक विदेशी युद्धमा नपठाउने उनको प्रतिबद्धता रहेको उल्लेख गरेका थिए।
युद्ध सुरु भएयता भान्सले सार्वजनिक रूपमा अभियानलाई समर्थन जनाए पनि, निजी रूपमा भने सैन्य कारबाहीलाई यथाशीघ्र अन्त्य गर्न दबाब दिइरहेको विभिन्न रिपोर्टहरूले जनाएका छन्।
यस घटनाक्रमले अमेरिकी प्रशासनभित्र विदेश नीतिमा देखिएको वैचारिक विभाजनलाई पनि उजागर गरेको छ। विशेषगरी विदेशी हस्तक्षेपका कट्टर समर्थक मानिने विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति भान्सबीचको दृष्टिकोणको अन्तर थप स्पष्ट भएको विश्लेषण गरिएको छ।