- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि सुशासनको नयाँ अध्याय सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। गोरखा पुगेका लामिछानेले निर्वाचन सभा सम्बोधन गर्दै पाँच वर्षे स्थायी सरकार गठन गर्न मतदातालाई आह्वान गरे।
सभापतिले मत ‘समानुपातिक’ र ‘प्रत्यक्ष’बीच बाँडफाँड गर्दा रास्वपाले बहुमत नपाउने चेतावनी दिए। उनका अनुसार, “रास्वपाले बहुमत नल्याए देशका भ्रष्टाचारीहरू सबैभन्दा बढी खुसी हुनेछन्। हामी तिनलाई खुसी पार्ने होइन, घण्टी बजाउने हो।”
लामिछानेले मतदातालाई धर्म, जात, समुदाय वा सम्प्रदायको नाममा राजनीतिक विभाजनमा नफस्न सचेत गराए। उनले भने, “धर्मका नाममा राजनीति गर्नेहरूको युग अन्त्य गर्नुपर्नेछ। राजनीति र सम्प्रदायलाई अलग राखेर भोट बैंक बनाउन खोज्नेहरूलाई सफल हुन दिइँदैन।”
आगामी २१ गतेको मतदानलाई इतिहास रच्ने अवसरको रूपमा उनले वर्णन गर्दै, गोरखा १ बाट सुधन गुरुङ र गोरखा २ बाट कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाउन मतदातालाई आग्रह गरे। लामिछानेले थपे, “सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरू अहिलेदेखि नै जिउ कामेको छन्। तर यसपटक हामी उनलाई सदनसम्म पुर्याउनेछौं।”