- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दल परित्याग गरेर प्रवेश गर्ने व्यक्तिहरूलाई तत्काल उम्मेदवार बन्न नपाउने गरी नयाँ व्यवस्था लागू गरेको छ। अब यस्ता व्यक्तिले पार्टीको “उम्मेदवार क्लब” मा दर्ता हुन कम्तीमा ९० दिन (तीन महिना) कुर्नुपर्नेछ।
आइतबार केन्द्रीय सचिवालयले पारित गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा’ अनुसार पार्टी प्रवेश गर्ने नयाँ सदस्यका लागि ४५ दिनको प्रतीक्षा अवधि तोकिएको छ भने अन्य दल छाडेर आउनेहरूका लागि ९० दिनको कुलिङ पिरियड अनिवार्य गरिएको हो।
यद्यपि, समाजमा प्रतिष्ठित व्यक्तित्व, विज्ञ, स्वच्छ छवि भएका वा विशेष क्षमता भएका व्यक्तिहरूका लागि “ल्याटरल इन्ट्री” मार्फत कुलिङ पिरियड पूरा नभए पनि उम्मेदवार क्लबमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। तर यस्ता सबैलाई पनि पार्टीको लिडरशिप एकेडेमी प्रशिक्षण र छनोट प्रक्रियामा सहभागी हुनुपर्नेछ।
रास्वपाले उम्मेदवार छनोटलाई तीन तहको प्रक्रियामा विभाजन गरेको छ— उम्मेदवार क्लब, लिडरशिप एकेडेमी प्रशिक्षण र अन्तिम छनोट परीक्षण। यसअन्तर्गत वडा र पालिका तहका उम्मेदवारले सम्बन्धित समिति वा माथिल्लो तहको लिखित स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ भने महानगर प्रमुख वा उपप्रमुखका आकांक्षीले केन्द्रीय समितिको अनुमति अनिवार्य रूपमा लिनुपर्नेछ।
पार्टीले उम्मेदवार छनोटका लागि चार प्रमुख मापदण्ड निर्धारण गरेको छ। लिडरशिप एकेडेमीलाई २५ प्रतिशत, राजनीतिक निकटता (पोलिटिकल प्रोक्सिमिटी) लाई २५ प्रतिशत, समावेशितालाई १० प्रतिशत र प्रारम्भिक मतदानलाई ४० प्रतिशत भाराङ्क दिइएको छ।
लिडरशिप एकेडेमीमार्फत उम्मेदवारको वैचारिक स्पष्टता, नेतृत्व क्षमता र जनसेवा सम्बन्धी योग्यता मूल्यांकन गरिनेछ। त्यस्तै, पोलिटिकल प्रोक्सिमिटी अन्तर्गत व्यक्तिको जनसम्बन्ध, पार्टीमा सक्रियता, अनुशासन र लोकप्रियता जस्ता पक्षहरू मूल्यांकन हुनेछन्।
समावेशिताको मापदण्डमा जातीय, लैंगिक, उमेर समूह, भौगोलिक तथा अपाङ्गता जस्ता पक्षलाई ध्यान दिइनेछ। प्रारम्भिक मतदानमा सम्बन्धित पालिकाका पार्टी सदस्यहरूले आकांक्षी उम्मेदवार चयनमा मतदान गर्नेछन्।
यसरी रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउन नयाँ संरचना लागू गरेको जनाएको छ।