Monday, June 1, 2026

रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन तयारी तालिका, असारमा चितवन केन्द्रित राजनीतिक चहलपहल बढ्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले विभिन्न चरणमा गरिने तयारीका कामहरूको समयसीमा निर्धारण गर्दै औपचारिक तालिका सार्वजनिक गरेको हो ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन ७७ जिल्लासहित सातै प्रदेशमा निर्वाचन समिति गठनदेखि प्रतिनिधिको नामावली संकलनसम्मका कार्यक्रम समावेश गरिएको छ ।

कार्यतालिका अनुसार जिल्ला तथा प्रदेश निर्वाचन समिति गठनको काम जेठ ७ गतेबाट सुरु भइसकेको छ भने जेठ १५ भित्र सम्पन्न गरिसक्नुपर्नेछ । त्यस्तै, आधिकारिक परिपत्र र माइन्युट प्रतिलिपि पठाउने समयसीमा जेठ १० सम्म तोकिएको छ । स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन कार्य भने जेठ २० गतेसम्म पूरा गर्नुपर्ने उल्लेख गरिएको छ ।

जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन बुझाउने अन्तिम मिति जेठ ३० गते तोकिएको छ भने महाधिवेशन प्रतिनिधिको नामावली जेठ २५ गतेभित्र पेश गर्नुपर्नेछ । साथै, प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र केन्द्रीय समितिमा बुझाइसक्नुपर्ने जनाइएको छ ।

यसपटक महाधिवेशनमा प्रविधिको प्रयोगलाई पनि विशेष प्राथमिकता दिइएको र इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगसम्बन्धी छलफल तथा तयारीका लागि जेठ ७ देखि असार ५ गतेसम्मको समय छुट्याइएको पार्टीले जनाएको छ ।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित सूचनामा प्रदेश समितिका सभापतिहरूलाई जिल्ला तहसँग समन्वय गरी निर्धारित समयमै सबै काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like