- by समाचार कक्ष
- Mar 06, 2025
हेटौंडा, ११ फागुन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्दै आफ्नो पुरानै राजनीतिक घर नेपाली कांग्रेसमा पुनः प्रवेश गरेका छन्। तीन दशकभन्दा लामो राजनीतिक अनुभव बोकेका पराजुली यसअघि कांग्रेस छोडेर रास्वपामा आबद्ध भएका थिए।
रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेसका सभापति गगनकुमार थापा ले सर्लाहीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए। पराजुलीसहित रास्वपा मकवानपुरका केही नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए।
कांग्रेस सभापति थापासँगको भेटपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पराजुलीले रास्वपाको नेतृत्व शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले पार्टीभित्र देखिएको सीमित व्यक्तिको प्रभाव, चाकरीवाद, आलोचना अस्वीकार गर्ने प्रवृत्ति र कमजोर आन्तरिक लोकतन्त्रका कारण आफू निराश बनेको उल्लेख गरेका छन्। आफूले विश्वास गरेको मूल्य, उद्देश्य र आदर्श व्यवहारमा लागू नभएको उनको भनाइ छ।
मनहरी गाउँपालिकाका स्थायी बासिन्दा पराजुली ६ मंसिर २०८१ मा सम्पन्न रास्वपाको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा सभापतिमा पुनः चयन भएका थिए। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए र १२ हजार ३९ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुनः उम्मेदवार बन्ने इच्छा राखेका पराजुली टिकटका लागि पार्टी कार्यालय काठमाडौं पुगेका थिए। तर सोही क्षेत्रका २५ वर्षीय प्रशान्त उप्रेतीले टिकट पाएपछि उनी निराश बनेका थिए। टिकट नपाएपछि उनी कांग्रेस मकवानपुरका नेताहरूसँग संवादमा सक्रिय रहेको स्रोतले जनाएको छ।
रास्वपाका एक नेताका अनुसार, उम्मेदवारी दर्ताको अघिल्लो दिन पार्टी सभापति रवि लामिछाने ले फोन गरी उनको योगदानको कदर हुने आश्वासन दिएका थिए। तथापि, पराजुलीले अन्ततः आफ्नै पुरानो राजनीतिक घर रोजेका हुन्।
शालीन र भद्र स्वभावका रूपमा परिचित पराजुलीले मकवानपुरको पश्चिमी क्षेत्रमा प्रभावशाली राजनीतिक छवि निर्माण गरेका छन्। उनकाे यो निर्णयले जिल्ला राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।