- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - रामेछापको मन्थली नगरपालिका-६ मसानेटारमा मंगलबार भएको दर्दनाक बस दुर्घटनापछि आन्दोलनमा उत्रिएका मृतकका आफन्त तथा घाइतेका परिवारले सहमतिसँगै आन्दोलन स्थगित गरेका छन्। स्थानीय प्रशासनको रोहवरमा पीडित पक्ष र यातायात व्यवसायीबीच भएको वार्तापछि सहमति जुटेको हो।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खस्दा १२ जनाको ज्यान गएको थियो। घटनापछि क्षतिपूर्ति र कारबाहीको माग गर्दै पीडित परिवारले प्रदर्शन गर्दै आएका थिए।
जिल्ला सुरक्षा समितिको सहजीकरणमा अरनिको यातायात र पीडित पक्षबीच भएको सहमतिअनुसार मृतकका परिवारलाई प्रचलित कानूनबमोजिम क्षतिपूर्ति उपलब्ध गराइनेछ। साथै, सवारी चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने र दुर्घटनामा हराइरहेका आशंकित यात्रुको खोजी कार्य जारी राख्ने निर्णय भएको छ। बेपत्ता यात्रुको हकमा पनि सम्बन्धित निकायबाट क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गरिएको छ।
सहमति पश्चात् आफन्तहरूले शव परीक्षण सम्पन्न गरी दाहसंस्कारका लागि लगेका छन्। पीडित पक्षले उठाएका माग र निवेदनलाई कार्यान्वयनका लागि अरनिको यातायात, गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने जनाइएको छ।
यस्तै, सवारी सञ्चालनमा लापरबाही देखिए प्रचलित कानूनअनुसार सवारी दर्ता खारेजसम्मको कारबाही गर्ने विषयमा पनि सहमति बनेको छ। प्रत्येक स्थानीय तहमा सवारी सञ्चालन व्यवस्थापन सुदृढ गरिने, यातायात व्यवसायी तथा समितिले जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रामेछाप भित्रिने र जिल्ला भित्र सञ्चालन हुने सवारीसाधनमा सीमा नाका तथा चेकप्वाइन्टमा अनिवार्य प्रहरी जाँच कडाइका साथ गरिनेछ। यात्रु संख्या, सवारी प्रवेश समय लगायतका विवरण अभिलेख राख्ने व्यवस्था मिलाइने निर्णयसमेत गरिएको छ।