- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, २९ माघ - जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। केही समूह तथा राजनीतिक दलहरूले फागुन १ गते विमानस्थल र आसपासको क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा सतर्कता बढाउँदै प्रशासनले यस्तो निर्णय लिएको हो।
बिहीबारदेखि लागू हुने उक्त आदेशअनुसार विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कुनै पनि विरोध कार्यक्रम सञ्चालन गर्न पाइने छैन। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्र र सम्पूर्ण परिसरभित्रका सडकसमेत निषेधित क्षेत्रका रूपमा तोकिएको उल्लेख छ।
आदेशमा विमानस्थल जस्तो अति संवेदनशील क्षेत्रमा भीडभाडका कार्यक्रम हुँदा उत्तेजित समूहबाट तोडफोड, आगजनी लगायतका अवाञ्छित गतिविधि हुन सक्ने जोखिम औंल्याइएको छ। त्यसैले शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा आवश्यक ठहर गरिएको प्रशासनले जनाएको छ।
यद्यपि, तोकिएको निषेधित क्षेत्र बाहेक अन्य स्थानमा संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारप्रति प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। साथै, पूर्वसूचना दिएर गरिने कार्यक्रमबाट सरकारी, सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगेमा आयोजकबाट क्षतिपूर्ति असुल गरिने चेतावनीसमेत दिइएको छ।