Monday, March 2, 2026

निर्वाचन मुखैमा, नयाँ संसद् भवन अझै अपूरो: ८८ प्रतिशतमा सीमित निर्माणले बढायो अन्योल


काठमाडौँ - आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा निर्वाचित भएर आउने सांसदहरूका लागि सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार हुन सकेको छैन। सरकारी विवरणअनुसार भवन निर्माणको प्रगति हालसम्म करिब ८८ प्रतिशतमा सीमित रहेको छ, जसले आगामी संसद् बैठक कहाँ र कसरी सञ्चालन हुने भन्ने विषयमा चासो बढाएको छ।

विगतदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् बैठक बस्दै आएको थियो। तर जेनजी आन्दोलनका क्रममा उक्त भवनमा तोडफोड तथा आगजनी भएपछि त्यहाँ पुनः बैठक सञ्चालन हुने सम्भावना न्यून बनेको छ। त्यसपछि आगामी संसद् बैठक सिंहदरबारभित्रकै निर्माणाधीन नयाँ भवनमा सार्ने तयारी भइरहेको छ, तर निर्माण कार्य पूरा नहुँदा अन्योल कायमै छ।

२०७६ असोज १६ गते पाँच अर्ब दुई करोड रुपैयाँ लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो। तर निर्धारित समयसीमा बितिसक्दा पनि काम नसकिएपछि पटक–पटक म्याद थपिँदै आएको छ। निर्माणको जिम्मा सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन आयोजनाले सम्हालिरहेको छ। उच्चस्तरीय राजनीतिक नेतृत्वले पटक–पटक अनुगमन गर्दै छिटो सम्पन्न गर्न निर्देशन दिए पनि सम्पन्न हुने ठोस मिति सार्वजनिक गरिएको छैन।

सहरी विकास मन्त्रालयका अनुसार सिंहदरबारको पुतली बगैँचामा निर्माण भइरहेको भवन अत्याधुनिक सुविधासहितको हुनेछ। भवनमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष (४०० मुख्य हल र ३०० बाल्कोनी), २९० सिट क्षमताको राष्ट्रिय सभा कक्ष तथा ३५० सिट अट्ने संयुक्त लबी निर्माण गरिएको छ। साथै १० राजनीतिक दलका संसदीय दलका कार्यालय, संसद् सचिवालय, विशिष्ट अतिथिका लागि छुट्टै प्रवेशद्वार तथा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख सचेतकका लागि विशेष कक्षको व्यवस्था गरिएको छ।

२०६४ सालदेखि सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् सञ्चालन गर्दै आएको थियो। अब सो भवन प्रयोग गर्न नसकिने अवस्थामा नयाँ संसद् भवन समयमै सञ्चालनमा आउँछ कि आउँदैन भन्ने प्रश्न थप पेचिलो बनेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like