- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - भ्रष्टाचार आरोपको मुद्दा खेपिरहेका कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले चालिसेलाई धरौटी बुझाएर रिहा हुन आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा लगाइएका आरोपबारे उनले इन्कारी बयान दिएपछि अदालतले धरौटी माग्ने आदेश गरेको हो।
चालिसेमाथि ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाइएको छ। सो सम्बन्धी मुद्दा गत मंसिर २८ गते विशेष अदालतमा दर्ता गरिएको थियो। उनी प्रतिनिधिसभाको अर्थ समितिका निवर्तमान सभापति समेत हुन्।
अख्तियारका अनुसार, गोकर्णेश्वर नगरपालिकाको मेयर रहेका बेला उनले अवैध रूपमा सम्पत्ति आर्जन गरेका थिए। यही प्रकरणमा उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ।
अख्तियारको दाबी अनुसार चालिसेले कुल ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको देखिएको छ, तर त्यसमध्ये ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध आयबाट आएको पुष्टि भएको छ। बाँकी ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गर्दै त्यही रकमलाई बिगो कायम गरिएको हो।
यस मुद्दामा चालिसेसहित उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
चालिसे २०७४ जेठमा गोकर्णेश्वर नगरपालिकाका मेयर निर्वाचित भएका थिए। पाँच वर्षे कार्यकाल पूरा गरेपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट सांसद बनेका थिए। अख्तियारले उनले सम्पत्ति विवरणमा वास्तविक जानकारी नदिई झुट्टा विवरण पेस गरेको आरोप पनि लगाएको छ।